काठमाडौँ, लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ। इजरायलले हिजबुल्लाहको स्थानलाई लक्ष्य गर्दै आक्रमण गरेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, दक्षिणी सहर खियाममा कारमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ। त्यस्तै, टिरी गाउँमा इजरायलले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको छुट्टै विज्ञप्तिमा जनाइएको छ। यसबारे थप विवरण भने उपलब्ध भएको छैन।
यसअघि, हिजबुल्लाहले शिया अमल आन्दोलनका एक लडाकुको मृत्यु भएको पुष्टि गरेको थियो।
हाल हिजबुल्लाह र इजरायलबीच तनाव बढ्दै गएको छ। इजरायलले हिजबुल्लाहका धेरै स्थानहरूलाई लक्ष्य गरी हवाई हमला गरिरहेकामा, हिजबुल्लाहले इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ। लेबनानसँग तनाव बढेपछि इजरायलले ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ।
