काठमाडौं, विशेष अदालतले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ, जसमा नगर विकास समितिका ११ पदाधिकारी र ७६ जना लाभग्राही समावेश छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले दोषी ठहर गरिएका पदाधिकारीहरूलाई डेढ महिना कैद र १३ लाख ७ हजार रुपैयाँ जरिवाना तोकेको छ। दोषी ठहर गरिएका प्रमुख पदाधिकारीहरूमा टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावल, योजना प्रमुख बलबहादुर कडायत, नापी अधिकृत मानबहादुर चन्द, र मालपोत अधिकृत जयबहादुर विष्ट लगायत छन्।
सरकारी जग्गा व्यक्तिका नाममा गैरकानूनी रूपमा दर्ता गराइएको मुद्दामा ८७ जनालाई दोषी ठहर गरिएको छ भने अन्य आरोपितहरूले सफाइ पाएका छन्। अदालतले गैरकानूनी रूपमा दर्ता गराइएका जग्गा जफत गर्ने आदेश दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो, जसमा १४ जना पदाधिकारी र ११० जना जग्गाधनी थिए। आरोपितहरूले नक्कली रसिदमार्फत सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराएको आरोप लगाइएको थियो।