काठमाडौँ, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार हालै पोखरा र चितवनमा साइबर अपराधको माध्यमबाट ७३ लाख रुपैयाँ ठगी गरिएको छ। पोखरामा ५७ लाख र चितवनमा १६ लाख रुपैयाँ चोरी भएको छ।

साथै, नेपाल सरकारका कर्मचारीहरूसँग पनि ५ लाख ५० हजार रुपैयाँ ठगी भएको जानकारी आएको छ। यस विषयमा सीआईबीले अनुसन्धान थालेको छ।
सीआईबीका अनुसार, हालसम्म ५०० भन्दा बढी सन्दिग्ध नम्बरहरूको प्रयोग भएको छ। ती अपराधीहरूले गलत आईडी र पासवर्ड प्रयोग गरेर वालेट र मोबाइल बैंकिङ एपहरू बन्द गराइदिन्छन्। त्यसपछि फोन गरेर ओटीपी माग गर्दै बैंकको नाममा ठगी गर्छन्।
सामाजिक सञ्जालमार्फत प्रलोभनपूर्ण म्यासेज पठाएर, एआई आवाजको प्रयोग गरेर लिङ्क खोल्न लगाइ, युजरनेम र पासवर्ड चोरी गर्ने कार्यमा संलग्न रहेको पाइन्छ। त्यसपछि उनीहरूले चोरी भएका युजरनेम र पासवर्डको मद्दतले पैसा ट्रान्सफर गर्छन्।
सीआईबीले यस्तो किसिमका साइबर ठगी बढेको बताउँदै अपरिचित नम्बरबाट आएका फोन र मेसेज नउठाउन सल्लाह दिएको छ। यस्ता घटनामा संलग्न संदिग्ध व्यक्तिहरूको बारेमा जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ।