खाँदबारी (सङ्खुवासभा), पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना २६८ परिवारलाई प्रत्यक्षरुपमा प्रभावित गर्नेछ।

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदनअनुसार, उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ। यसबाहेक ७० हेक्टर वन क्षेत्र र ६ हेक्टर सरकारी जग्गा पनि अधिग्रहण गरिने जनाइएको छ, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले बताए।
प्रभावित स्थानीय परिवारलाई करिब एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ। तल्लो अरुण आयोजना निर्माणको प्रक्रिया पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ।
नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको खेर गएको पानीबाट खाँदबारी नगरपालिका-२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङमार्गमार्फत पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो।
भारतीय कम्पनी सतलजले हाल नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।