काठमाडौँ, चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, साउनदेखि मंसिर महिनासम्मको अवधिमा यो रकम भित्रिएको हो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ४.४ प्रतिशतले वृद्धि भएको छ। तर, अघिल्लो वर्षको वृद्धिदर भने २४.२ प्रतिशत रहेको थियो।
यस अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष यो २१.१ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६९९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६६९ अर्ब ७७ करोड रुपैयाँ थियो।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ९० हजार ३८४ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा क्रमशः १ लाख ७१ हजार ९७५ र १ लाख २ हजार ५४२ जना श्रम स्वीकृति लिएका थिए।