काठमाडौँ, नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो, भने कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ थियो। यस महिना सञ्चिति १८ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकमा २० खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ सञ्चिति छ, जुन असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ थियो। बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ४० अर्ब रुपैयाँ सञ्चिति छ, जुन असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो।
हालको सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ। अघिल्लो महिनाको सञ्चितिले १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बताइएको थियो। पछिल्लो समयमा बढेको आयातका कारण सञ्चिति पर्याप्तता सूचकमा गिरावट आएको छ।