काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण हुन नसकेकाहरूको सुविधाका लागि बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा आयोजना गर्दैछ। परीक्षा बिहान ११ बजेदेखि सुरु हुनेछ।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार, ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार परीक्षार्थी सहभागी हुने अपेक्षा गरिएको छ। परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ।
गत असार १३ गते सार्वजनिक भएको एसईईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए। यसपटक ‘एनजी’ भएका र अनुपस्थित रहेका विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।
तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठको विशेष पहलमा सबै अनुत्तीर्ण विद्यार्थीलाई पहिलो पटक ग्रेड वृद्धि परीक्षा दिने निर्णय गरिएको हो।
अधिकांश परीक्षार्थीको नतिजा ‘एनजी’ आएपछि, राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ भएका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको हो। यसअघि, अधिकतम दुई वटा विषयमा मात्र ‘एनजी’ भएका विद्यार्थीलाई यस्तो परीक्षा दिन दिने व्यवस्था थियो।
यसपटकको एसईईमा अनुत्तीर्णको सङ्ख्या २ लाख ४२ हजार रहेकोमा, दुई लाख १० हजार परीक्षार्थीले मात्रै ग्रेड वृद्धि परीक्षा फर्म भरेका छन्।