काठमाडौं, लेबनानको स्वास्थ्य मन्त्रालयले १८ सेप्टेम्बरका शृंखलाबद्ध विस्फोटहरूमा २० जनाको मृत्यु भएको र ४५० जना घाइते भएको जानकारी दिएको छ। यी विस्फोट वाकी–टकी उपकरणमा भएका थिए, जुन ताररहित सञ्चारका लागि प्रयोग गरिन्छ।

यसअघि १७ सेप्टेम्बरमा, लेबनानका विभिन्न स्थानहरूमा पेजर विस्फोट भएका थिए, जसमा एक बालकसहित १२ जनाको मृत्यु भएको थियो।
विस्फोट भएका वाकी–टकी उपकरण हिजबुल्लाहको प्रयोगमा रहेको बताइएको छ। विस्फोट लेबनानको राजधानी बेरुत, बेका उपत्यका, र दक्षिणी लेबनानमा भएका थिए। हिजबुल्लाहले इजरायललाई दोषी ठहराएको छ, तर इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएन।
बीबीसीका अनुसार, बिहीबार हिजबुल्लाहका नेता हसन नसरल्लाहले आफ्ना लडाकुहरूलाई सम्बोधन गर्नेछन्, जसपछि हिजबुल्लाहका थप योजनाहरूको अनुमान गर्न सकिनेछ।
