काठमाडौं । सेयर बजारमा सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको सेक्टर हो – हाइड्रोपावर । यो सेक्टर दुई सातामै ७.८ प्रतिशत बढेको छ ।

कुल कारोबार रकममा हाइड्रोपावर समूहका कम्पनीको मात्रै ७० प्रतिशत हाराहारी पुग्न थालेको छ । आइतबार कुल ११ अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा हाइड्रोपावर समूहको मात्रै ६९ प्रतिशत अर्थात् ७ अर्ब ९१ करोडको भयो ।
समग्र सेक्टरले बढ्दो गति लिइरहेका बेला पाँच कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । विभिन्न समयमा दिइएको बोनस सेयर तथा हकप्रद सेयर समायोजनपश्चात यी ५ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो ।
हालसम्मकै उच्च मूल्यमा पुगेका ५ हाइड्रोपावर कम्पनीमा सानिमा माई हाइड्रोपावर, ङादी ग्रुप, बुटवल पावर कम्पनी, पियोर इनर्जी र बरुण हाइड्रोपावर छन् ।
सानिमा माइ हाइड्रोपावरको मूल्य आइतबार प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । त्यस्तै ङादी ग्रुपको मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ ७९ पैसा पुगेको छ । बुटवल पावरको ७९४ रुपैयाँ ३४ पैसा, बरुण हाइड्रोपावरको ३६८ रुपैयाँ ७४ पैसा र पियोर इनर्जीको ९०७ रुपैयाँ १० पैसा पुगेको छ ।
पियोर इनर्जी बजारको नयाँ कम्पनी हो । जेठ १३ गतेबाट कारोबार सुरु भएको यो कम्पनीको मूल्य लगातार १० प्रतिशत बढिरहेको छ । हालसम्मकै उच्च मूल्यमा पुगेका यी ५ कम्पनीमध्ये ३ कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १ रुपैयाँभन्दा कम छ ।