काठमाडौँ । निर्वाचन आयोगले पार्टी पदाधिकारीमा भएको फेरबदल अद्यावधिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोगको भूमिकामाथि प्रश्न उठाएको छ ।

निर्वाचन आयोगले अभिलेखमा महामन्त्री डा.मुकुल ढकाल नै रहेको बताएपछि त्यसमा रास्वपाले आपत्ति जनाएको थियो ।
आयोगले असार ४ गते ढकालले रास्वपाको अध्यावधिक विवरण मागे बमोजिम पत्र दिएको भन्दै उनी नै महामन्त्री रहेको उल्लेख गरेको थियो। यसबारे खण्डन गर्दै रास्वपाले आयोगसँग जवाफ माग गरेको हो।
०८१ असार २५ गते पार्टीले गरेको निर्णय अनुसार साउन १७ गते निर्वाचन आयोगमा निवेदन पेस भएको रास्वपाले जनाएको छ ।
पार्टी केन्द्रीय समितिको २०८१ असार २५ को निर्णय अनुसार पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ श्रावण १७ गते निर्वाचन आयोगसँगकै परामर्शमा निवेदन पेस भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अद्यावधिकको निवेदन दर्ता भइसकेपछि सो निवेदनमा उल्लेख भएको व्यहोरा नै आधिकारिक हुने मान्यता र अभ्यास रहेको रास्वपाको भनाई छ ।