विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । यद्धपि बैकल्पिक बाटोबाट यातायात खुलाइएको उनले बताए ।
उनका अनुसार माइखोलामा आएको बाढी भने बस्ती पसेको छ । झापाको झापा गाउँपालिका २ मा बस्तीमा पसेको हो ।
नदीको बाढी बस्ती तर्फ गएपछि २२ घर परिवार विस्थापित भएका छन् । घटनास्थलमा प्रहरी र जनप्रतिनिधिको टोली पुगेर स्थानीयलाई सारेको उनले बताए । उनका अनुसार केही घरमा बाढीको पानी पसेको हो ।