धनगढी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) को बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएका संगै संसदीय दलको नेतामा गंगाराम चौधरी चुनिएको छ ।
प्रतिनिधिसभामा नाउपाका चार सांसद छन् । फाुगनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन गरेपछि नाउपामा आन्तरिक कलह चलिरहेको छ ।
कतिसम्म भने सुदूरपश्चिममा दुई प्रदेश सांसद मन्त्री छन् भने पाँच सांसद प्रतिपक्षमा छन् ।
पार्टीका संरक्षक रेशमलाल चौधरी कांग्रेस गठबन्धनमा जान चाहेका थिए, तर अध्यक्ष रञ्जिताको जोडबलमा नाउपाले नयाँ गठबन्धनलाई समर्थन गर्यो ।
त्यही बेला रेशमले आफ्नी श्रीमतीसमेत रहेकी रञ्जितालाई संसदीय दलको नेताबाट हटाउन खोजेका थिए । तर रेशमका बुवा समेत रहेका सांसद लालवीर चौधरी र अरुण चौधरीले साथ नदिएपछि दल नेता फेर्ने उनको प्रयास सफल भएन ।
तर आइतबार अरुण र लालवीरको समर्थनमा अध्यक्ष रञ्जितालाई संसदीय दलको नेताबाट हटाइएको छ । संसदीय दलका प्रमुख सचेतक रहेका गंगारामलाई संसदीय दलको नेता बनाइएको छ भने लालवीरलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ ।