११ असार, काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई महान्यायाधिवक्ता कार्यालयले आफ्नो जवाफ पठाएको छ।

समितिले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा राय सुझाव मागेको थियो। त्यस अनुसार, महान्यायाधिवक्ता कार्यालयले दुई विकल्प दिएको स्रोतले जनाएको छ। कानुनी रूपमा कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएकाले समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने सुझाव दिएको छ।
त्यस्तै अर्को विकल्पमा, नियुक्ति प्रक्रिया रद्द गर्न सकिने सुझाव पनि दिएको छ। सिफारिस समितिले यी दुई विकल्पमध्ये कुनै पनि अवलम्बन गर्न सक्ने सुझाव कार्यालयले दिएको छ।
बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जनाले अन्तर्वार्ता तथा कार्यप्रस्तुति नदिएपछि दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्यप्रस्तुति गरेका थिए। यसका कारण नियुक्ति प्रक्रिया अवरुद्ध भएको छ।