Upendra Yadav 1

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको महाधिवेशन सम्पन्न भएको दुई हप्ताभन्दा बढी भइसकेको छ, तर हालसम्म केन्द्रीय समिति गठन हुन सकेको छैन। गत जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा महाधिवेशन सम्पन्न भएको थियो। महाधिवेशनबाट उपेन्द्र यादवलाई सर्वसम्मत अध्यक्ष चयन गरियो, तर अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको चयन भएको छैन। यो जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको छ।

Upendra Yadav 1

महाधिवेशनपछि जनकपुरबाट फर्केपछि उपेन्द्र यादवले नेता तथा कार्यकर्तासँग परामर्श गरिरहेका छन्। उनले कहिले समूहमा त कहिले व्यक्तिगत रूपमा परामर्श गरिरहेका छन्। तर २४१ सदस्यीय कार्यसमिति कुन आधार र मापदण्डमा चयन गर्ने भन्ने अझै निश्चित भएको छैन।

जसपा नेपालका नेता गोविन्द्र चौधरी भन्छन्, ‘उम्मेदवारी कायम रहेको भए त्यसको आधारमा चयन गर्न सजिलो हुन्थ्यो। अब कसैको उम्मेदवारी नरहेको कारण अध्यक्षजीले कुन मापदण्डमा कार्यसमिति चयन गर्ने भन्नेबारे मलाई जानकारी छैन, तर उहाँ गहन छलफलमा लाग्नुभएको छ। चाँडै नै टुङ्गो लगाउनु हुनेछ।’

पार्टीमा एकीकृत भएर आएका, प्रवेश गरेका तथा पुराना नेताहरूलाई समेटेर समावेशी ढंगबाट कार्यसमिति बनाउने प्रयास भइरहेको बताउँदै चौधरीले जसपा नेपाललाई राष्ट्रिय स्वरुप प्रदान गर्ने गरी कार्यसमिति बन्ने दाबी गरे।

पार्टी अध्यक्ष यादवले सबै पक्षसँग छलफल गरिरहेका र विभिन्न कोणबाट परामर्श गरिरहेकाले कार्यसमिति समावेशी र सबैलाई मिल्ने खालको बन्नेमा विश्वास गर्न सकिने चौधरीको भनाइ छ।

महाधिवेशन सम्पन्न भएको ३० दिनभित्र कार्यसमिति बनाएर निर्वाचन आयोगमा बुझाउने प्रावधान छ। जसपा नेपालको २१ जना पदाधिकारीसहित २४१ सदस्यीय कार्यसमिति बनाउनु पर्छ। अध्यक्षबाहेक सबै पदमा अध्यक्षले नै मनोनयन गर्ने जिम्मेवारी पाएपछि अध्यक्ष उपेन्द्र यादव अझ शक्तिशाली हुने देखिएको छ।

अहिले पार्टीका सम्पूर्ण नेता काठमाडौँमा केन्द्रित भएका छन्। ती नेताहरू अध्यक्ष यादवका वरिपरि घुमिरहेका छन्। पद पाउनका लागि अध्यक्ष यादवलाई विभिन्न किसिमले प्रभाव पार्ने प्रयास जारी छ। जसपा नेपालका एक नेताले भने, ‘पहिलादेखि उपेन्द्रजी शक्तिशाली हुनुहुन्थ्यो नै, अहिले त अझ शक्तिशाली हुनुभएको छ। उहाँको अगाडि कुनै पनि नेता उच्च स्वरमा बोल्न सकिरहेका छैनन्। कसैले कुनै कुरामा विरोध गर्न सकिरहेका छैनन्। आफूले चाहेको पद अध्यक्षबाट कसरी हात पार्ने भन्नेमा सबैको ध्यान छ।’

अध्यक्ष यादवलाई पूर्ण अधिकार दिइसकेका कारण उनले जसलाई चाह्यो, उसैलाई पदाधिकारी वा केन्द्रीय सदस्य तोक्न सक्छन्। हालसम्म कार्यसमिति बनाउनका लागि कुनै मापदण्ड नबनेकोले अध्यक्ष यादवकै बर्चश्व हुने भएको हो।

पार्टीका प्रवक्तासमेत रहिसकेका नेता मनिष सुमनले भने, ‘अध्यक्षजीलाई सम्पूर्ण जिम्मेवारी महाधिवेशनले दिइसकेको छ, सबैलाई न्याय हुने गरी उहाँले कार्यसमिति बनाउनु हुनेछ भन्नेमा सबैलाई विश्वास छ।’

विश्वास गरेरै महाधिवेशनले सम्पूर्ण अधिकार अध्यक्षलाई दिएको सुमनको भनाइ छ। अध्यक्षले सबैसँग परामर्श गरिरहेको र सबैको सहमति तथा परामर्शमै कार्यसमिति बन्नेमा नेताहरू विश्वस्त रहेको उनले बताए।

केही दिन अघि अध्यक्ष यादवले पुरानो कार्यसमितिको बैठक बसाएर कार्यसमितिको बारेमा समूहिक छलफल गरेका थिए। कसरी चयन गर्दा राम्रो हुन्छ भन्ने विषयमा नेताहरूसँग उनले परामर्श गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *