काठमाडौँ । देशभरको परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी सहभागी हुँदै छन् । ५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् । ७७ जिल्लामध्ये थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजार १ सय ३३ जना परीक्षार्थी छन् । मनाङ/मुस्ताङमा १/१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १ सय ६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।