काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान प्रकाशन गरिने भएको छ।
आज नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेको थियो। तर, केही प्राविधिक तयारी पूरा नभएका कारण भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।
१५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए। बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ, जसमा सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन फरक-फरक रूपमा गरिनेछ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ। ७५ अंकको सैद्धान्तिक परीक्षामा न्यूनतम २६.२५ अंक ल्याउनुपर्नेछ। आन्तरिकतर्फको २५ पूर्णांकको परीक्षामा ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिनेछ। तर, विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षामा ३५ प्रतिशत अर्थात २६.२५ अंक नल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ र ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्।
साथै, कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याए विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ। विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्। दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नल्याएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक नल्याए परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्।