१३ असार, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। यस वर्षको परीक्षा १५ चैतदेखि २७ चैतसम्म सम्पन्न भएको थियो। परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशतमात्रै उत्तीर्ण भएका छन्।
१८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार, ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना मात्रै कक्षा ११ मा पढ्न योग्य भएका छन्। अर्थात्, परीक्षामा सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीले ननग्रेड (एनजी) प्राप्त गरेका छन्।
बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिक मूल्यांकन फरक-फरक तरिकाले गरिएको छ। विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ।
७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ। लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन गरिएको छ।
सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नल्याउने विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ, जसका कारण उनीहरूले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्।
साथै, कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन्। यद्यपि, दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन्।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नल्याउने र ग्रेड वृद्धि परीक्षामा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी प्राप्त गरेका विषयमा मात्र परीक्षा दिन पाउनेछन्।