काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष पदको दाबीबाट पछि हटेका छन्। महाधिवेशनको सम्मुखमा आएर उनले यस निर्णय गरेका हुन्। यसअघि, खनालले जसको विचार उसैको नेतृत्व भनेका थिए। अध्यक्ष पदको लागि खनालसहित माधवकुमार नेपाल र घनश्याम भुसालले दाबी गर्दै आएका थिए। खनालको पछि हटेसँगै उनले भुसाललाई समर्थन गर्ने निर्णय गरेका छन्।
बुधबार बिहान खनाल निवासमा खनाल र भुसालबीच भएको छलफलमा खनालले भुसाललाई साथ दिने सहमति भएको हो। छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी थिए।
खनाल र भुसालबीचको छलफलको तस्बिर सार्वजनिक भएको छ, जसमा उनीहरूले हात मिलाएका छन्। भुसाल हाल एकीकृत समाजवादीको महासचिव छन्।
चार दिनपछि काठमाडौँमा हुन गइरहेको एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पार्टीको २२ सदस्यीय सचिवालयमा हाल २० नेताहरू रहेका छन्। खनाल-भुसाल पक्षमा १० र माधव नेपालको पक्षमा १० जना रहेका छन्।
नेपाल पक्षमा रहेका नेताहरूमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, केशललाल श्रेष्ठ, बेदुराम भुसाल, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, राजेन्द्र राई, र नागेन्द्र चौधरी छन्।
खनाल-भुसाल पक्षमा घनेन्द्र बस्नेत, धर्मनाथ प्रसाद साह, जयन्ती राई, प्रकाश ज्वाला, डा. विजय पौडेल, जीनवराम श्रेष्ठ, हरि पराजुलीलगायत छन्। रामकुमारी झाँक्रीले आफू कुनै पक्षमा नरहेको दाबी गरेकी छन्। गरिमा साह र भागवत विश्वासीले पनि अहिलेसम्म कुनै पक्ष खुलाएका छैनन्।