काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा ११औँ महाधिवेशनमा अध्यक्ष पदका दाबेदार ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाहेमात्र नेतृत्वमा सर्वसम्मत सहमति हुन सक्ने बताएका छन्।
बुधबार राजधानीमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा बोल्दै पोखरेलले अहिलेको परिस्थितिमा अन्य कुनै तरिकाले सहमति जुट्ने सम्भावना आफूले नदेखेको स्पष्ट पारे। उनले सहमतिका लागि अध्यक्ष ओली ‘अभिभावकीय भूमिका’ मा बस्नुपर्ने शर्त अघि सारे ।
‘सहमति हुनसक्छ, तर अहिलेको सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिकामा बस्ने र उहाँले महाधिवेशन हलमा औपचारिक ढंगले अबको नेतृत्व फलानो हो भन्नुभयो भने सहमति हुनसक्छ,’ पोखरेलले भने, ‘त्यस्तो अवस्थामा मात्र सहमति हुन्छ, नत्र अरु हिसाबमा सहमति हुन्छ जस्तो मलाई लाग्दैन।’
