काठमाडौँ । नेकपा एमालेका ७ जना केन्द्रीय पदाधिकारीहरू आगामी महाधिवेशनमार्फत अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा खुलेका छन् । एमालेको १९ सदस्यीय पदाधिकारी (सचिवालय) कमिटीमा हाल १८ जना छन् ।

त्यसमध्ये ७ जनाले ओलीलाई अध्यक्षमा निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका हुन् । उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल ओलीको पक्षमा खुलेका हुन् ।

एमाले महाधिवेशनमा अध्यक्षका लागि ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने अवस्था देखिएपछि उनीहरू ओलीको पक्षमा खुलेका हुन् ।

‘अहिलेको अवस्थामा एमालेको नेतृत्व ओलीकै हुनुपर्छ भन्नेमा हाम्रो समान मत रह्यो, मैले त सचिवालय बैठकमै यो घोषणा गरेको हो’, सचिव लेखराज भट्टले रातोपाटीसँग भने, ‘अरु साथीहरू पनि छलफलमा हुनुहुन्थ्यो अहिले खुल्नुभयो भन्ने सुनेको छु ।’ यसअघि उपाध्यक्ष पौडेल, उपमहासचिव गुरुङ र सचिव छविलाल विश्वकर्मा र रघुवीर महासेठ पोखरेल समूहमा आउन सक्ने पोखरेल समूहका नेताहरूले दावी गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *